Global TV Logo
लोड हुँदैछ...

कम्युनिस्ट एकतामा जोड: चार पूर्वप्रधानमन्त्रीले भने– अब मिल्ने समय आएको छ

B
Buna Ghimire
२०२६-०६-२८, ११:५२ AM
होमपेज/विशेष समाचार
कम्युनिस्ट एकतामा जोड: चार पूर्वप्रधानमन्त्रीले भने– अब मिल्ने समय आएको छ

काठमाडौँ, असार १४ -मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एउटै मञ्चमा उपस्थित भएका चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूले कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा बोल्दै नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्टहरूबीच कार्यगत तथा दीर्घकालीन एकता आवश्यक रहेको बताएका हुन्।

झलनाथ खनालले भने, अहिलेको राजनीतिक अवस्थाले वामपन्थी एकताको आवश्यकता झनै बढाएको छ। चुनावअघि नै कम्युनिस्ट शक्तिहरू एक भएको भए उल्लेखनीय सफलता हासिल हुने दाबी गर्दै अब दीर्घकालीन एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, वामपन्थी एकताका लागि सहकार्य गर्न थप ढिलाइ गर्नु ठूलो राजनीतिक भूल हुनेछ।  तत्काल पार्टी एकता सम्भव नभए पनि कम्तीमा कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

माधवकुमार नेपालले भने, कम्युनिस्ट आन्दोलनले गरेका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्ने समय आएको छ। नेपालका सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने भए पनि भाषणले मात्र होइन, व्यवहारमै एकता देखिनुपर्ने बताए।

केपी शर्मा ओलीले भने, कम्युनिस्ट आन्दोलनमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भइरहेको छ।  अहिले समाजवाद निर्माणको बहसभन्दा पनि प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवन र योगदान समेटिएको पुस्तकका लेखक रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’अन्तर्गत दुई लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com