ग्रे लिस्टबाट बाहिरिन सरकार पूर्ण रूपमा केन्द्रित : अर्थमन्त्री

साउन ७ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिरिन सरकार पूर्ण रूपमा केन्द्रित रहेको बताएका छन् ।
कर प्रशासनलाई थप पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्ने बताएका छन्।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आज देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले सरकारले नेपाललाई ‘ग्रे लिस्ट’बाट मुक्त गराउन निरन्तर काम गरिरहेको उल्लेख गरे। यसका लागि कर प्रशासनले पनि आफ्नो भूमिका थप जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध नियन्त्रणमा कर प्रशासनको भूमिका महत्वपूर्ण हुने भन्दै यस्ता गतिविधिलाई सूक्ष्म र गम्भीर रूपमा निगरानी गर्न कर अधिकारीहरूलाई निर्देशन दिए। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर भन्न पनि उनले आग्रह गरे। कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे । यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए ।
बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



