नेपालमै अन्तर्राष्ट्रिय आईटी शिक्षा : टेकपाइला र एनसीसी एजुकेशन यूकेको रणनीतिक साझेदारी

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित टेकपाइला इनोभेसनले विश्वविख्यात NCC Education सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस सहकार्यसँगै अब नेपालका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नै विद्यालय तथा कलेजमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा साइन्सका पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् ।
काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा टेकपाइला इनोभेसनले विद्यालय र कलेजहरूलाई कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी “शून्य लागत” मोडेलमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो । कम्पनीले दक्ष प्रशिक्षक, आधुनिक सिकाइ प्रणाली तथा अत्याधुनिक लर्निङ म्यानेजमेन्ट सिस्टम उपलब्ध गराउनेछ । यसले बजेट वा पूर्वाधार अभावका कारण आधुनिक प्रविधि शिक्षाबाट वञ्चित भइरहेका नेपाली विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर तथा प्रविधि विज्ञ Chiranjeevi Adhikari ले “डिजिटल नेपालको जगः सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा” विषयमा प्रस्तुतीकरण दिएका थिए । उनले नेपालको आईटी क्षेत्र वार्षिक रूपमा २० देखि २५ प्रतिशतले वृद्धि भइरहे पनि करिब ७० प्रतिशत आईटी कम्पनीहरूले दक्ष जनशक्ति अभाव झेलिरहेको तथ्य प्रस्तुत गरे ।
उनका अनुसार समयमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षा विद्यालय तहदेखि नै उपलब्ध गराउन सके नेपालले भविष्यमा विश्व बजारका लागि प्रतिस्पर्धी आईटी जनशक्ति उत्पादन गर्न सक्नेछ । टेकपाइला र एनसीसी एजुकेशन यूकेको यो सहकार्यलाई नेपालको डिजिटल भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...
