निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. जानकीकुमारी तुलाधर

काठमाडौं, असार २७ — निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका रामप्रसाद भण्डारीले ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश पाएपछि आयोगको वरियताक्रमअनुसार आयुक्त डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय रहने निर्वाचन आयोगमा हाल आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा मात्र कार्यरत छन्।
यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते सकिएको थियो भने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते समाप्त भएको थियो।
आयोगका रिक्त पदहरूमा नियुक्ति हुन नसक्दा हाल आयोग दुई सदस्यीय अवस्थामा सञ्चालन भइरहेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...

