पालले अन्तरदेशीय ऊर्जा कनेक्टिभिटीमार्फत विद्युत् व्यापार विस्तार गर्दैछ : मन्त्री श्रेष्ठ

काठमाडौं, साउन २५ —ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालले अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’मार्फत छिमेकी मुलुकसँग समन्वय र सहकार्य गर्दै ऊर्जा व्यापार विस्तार गरिरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसिया’को क्षेत्रीय शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले अन्तरदेशीय प्रसारणलाइनमार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत् व्यापार गर्दै आएको जानकारी दिए ।
“नेपालले द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आएको छ,” उनले भने, “अन्तरदेशीय ऊर्जा कनेक्टिभिटीमार्फत छिमेकी मुलुकबीच समन्वय र सहकार्य बढाउँदै नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्न आवश्यक छ । ऊर्जा कनेक्टिभिटी नेपालको उच्च प्राथमिकतामा रहेको विषय हो ।”
मन्त्री श्रेष्ठले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए । उनले जलविद्युत्बाट उत्पादित नवीकरणीय ऊर्जा छिमेकी मुलुकमा निर्यात गरी नेपाललाई स्वच्छ ऊर्जाको स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
उनका अनुसार क्षेत्रीय ऊर्जा सहकार्य र बलियो प्रसारण सञ्जाल निर्माणले दक्षिण एसियामा ऊर्जा सुरक्षाका साथै आर्थिक सहकार्यलाई समेत थप मजबुत बनाउनेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


