Global TV Logo
लोड हुँदैछ...

बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय

B
Buna Ghimire
2026-04-26, 04:36 PM
होमपेज/विशेष समाचार
बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय

झण्डै दुई तिहाई मत पाएको रास्वपा सरकारले शुरुआती लक्षण राम्रो देखाएको नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको विश्लेषण छ ।

उनी भन्छन्, ‘यो सरकारले गठन भएको पहिलो महिनामा जे गरेको छ, त्यो विगतमा कुनै पनि सरकारले गरेको भन्दा फरक छ । विगतका सरकारहरूका धेरै समय भेटघाट र खादामालामा व्यतित हुन्थे, यो सरकारले आशा गर्ने ठाउँ दिएको छ ।’

सरकारको प्रतिबद्धता र वाचापत्र अनुसार शासकीय सुधार, सुशासन, सेवाप्रवाह जस्ता कुरामा सरकारले राम्रो संकेत देखाएको जानकारहरू बताउँछन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित कार्यालयबाटै शासन सञ्चालन गरेका छन् । प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सक्रिय बनाएका उनले जानै पर्ने औपचारिक कार्यक्रममा बाहेक नजाने बताएका छन् ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि विगतमा जस्तो अनावश्यक भेटघाट, उद्घाटन र पुरिने गरी माला लगाएको दृश्य सार्वजनिक भएका छैनन् । अकर्मण्य, वेथिति र विसंगति भोग्दै आएका सेवाग्राहीले नराम्रो नगर्नुलाई मात्र पनि राम्रो मान्ने अवस्था छ ।

प्रधानमन्त्री शाहले कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको सामूहिक छलफललाई धेरैले सकारात्मक रुपमा लिए ।

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार फेरिए पिच्छे विदेशनीति नफेरिने सन्देश दिएका छन् । सरकारले प्रतिबद्धतापत्रमा उल्लेख गरेको ‘बफर स्टेट’ को विषय भने निकै आलोचित भयो ।

मेयर भएका बेला प्रधानमन्त्री शाहले विद्यालयहरूले दिनैपर्ने छात्रवृत्तिलाई पारदर्शी बनाउँदा वाह्वाही पाएका थिए । स्वास्थ्य क्षेत्रमा उनले झण्डै त्यस्तै निर्णय गरेका छन् । सरकारी तथा निजी अस्पतालका १० प्रतिशत शैया विपन्न, असहाय र बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयको प्रशंसा भएको छ ।

हुँदा खानेले उपचार गर्नै नसक्ने स्वास्थ्य प्रणाली भएको देशमा यस्तो प्रावधान कार्यान्वयन हुनै पर्ने जानकारहरू बताउँछन् ।

जनस्वास्थ्यविद् डा. रिता थापा निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शैयालाई पारदर्शी बनाउँदै सरकारी अस्पतालमा विपन्नका लागि १०० प्रतिशत निःशुल्क उपचार हुनुपर्ने बताउँछिन् । स्वास्थ्य विमालाई प्रभावकारी बनाउनु पर्ने उनको सुझाव छ ।

अक्सफाम इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार नेपालका सबैभन्दा धनी एक प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५१९ गुणा बढी सम्पत्ति छ ।

उच्च सार्वजनिक ओहोदामा बसेका अधिकांश व्यक्तिहरू सर्वाधिक धनी मध्येमा पर्छन् । सरकारले २०६२/०६३ सालयता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ ।

एक वर्षे समयावधी पाएको यो आयोगले निष्पक्ष र प्रभावकारी तरिकाले सत्यतथ्य बाहिर ल्याउने हो भने सुशासनमा एउटा कोशेढुंगा बन्नसक्ने जानकारहरू बताउँछन् । गठन आदेशमा सीमित नराखी ऐनमार्फत बलियो बनाउनु पर्ने विज्ञहरूको सुझाव छ ।

मालपोत, राहादानी विभाग, जिल्ला प्रशासन कार्यालय जस्ता सेवाग्राहीको भिडभाड हुने निकायमा विचौलिया निषेध गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्ने प्रयासले सकारात्मक प्रतिक्रिया आएका पाएका छन् । यसको निरन्तरताको भविष्यवाणी अहिले गर्नु छिटो हुन्छ । तर एक सय रुपैयाँ भन्दा बढीको घरायसी सामान ल्याउँदा समेत भन्सार लाग्ने व्यवस्थाको भने कडा आलोचना भइरहेको छ ।

रास्वपा सरकारले सिण्डिकेट र दलीयकरणको जरा काट्ने यत्न गरेको देखिन्छ । कुनै दलको सदस्य नलिने नागरिक बाँच्नै नसक्ने अवस्थालाई चुनौती दिने संकेत गरेको छ । अरुको हटाएर आफ्नो भर्ती नगर्ने परीक्षा भने यसको सामु छँदैछ ।

कर्मचारी युनियन, विद्यार्थी संगठन खारेज जस्ता निर्णयलाई कतिले स्वागत गरेका छन् भने कतिले विरोध । सुकुमवासी बस्ती हटाउने निर्णयको पनि मिश्रित प्रतिक्रिया आइरहेका छन् । मानवीयता र मानवअधिकारको दृष्टिकोणबाट हेर्दा आलोच्य देखिएको यो कदम कानुन पालना र कार्यकारीको निर्णयको अधिकारको हिसाबले स्वागतयोग्य भएको धेरैको टिप्पणी छ ।

वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईँ सुकुमवासी हटाउन सरकारले जे जे गर्‍यो त्यससँग सहमत छैनन् । उनी भन्छन्, ‘पहिले उठिवास र त्यसपछि प्रमाणीकरण गर्नु भनेको पहिलो दण्ड सजाय भोगाएर अनुसन्धान गर्ने भने जस्तो हो ।’

सुकुमवासी सम्बन्धी विषय नयाँ होइन । यसलाई कसरी हल गर्ने भन्ने सन्दर्भमा संविधान र कानुनी व्यवस्था छन् । संविधान र भूमि सम्बन्धी अन्य कानुनहरूले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई कसरी जग्गा उपलब्ध गराउने भनेर प्रष्ट व्याख्या गरेका छन् । अव्यवस्थित बसोवासीलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा पनि कानुनको अभाव छैन ।

तर, यो समस्या हल गर्ने क्रममा सरकारले आफूहरूमाथि मानोवचित व्यवहार नगरेको भूमिहीनहरूको गुनासो छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङ थापाथाली, गैरीगाउँ र मनोहराका बस्ती हटाउँदाको प्रक्रियालाई अपूरो र त्रूटिपूर्ण भन्न रुचाउँछन् ।

अघिल्लो दिन माइकिङ गरेर भोलिपल्टै प्रहरीले घेरा हालेर उठिबास लगाउने शैली मानवीय नभएको उनको भनाइ छ ।

गुरुङ भन्छन्, ‘हाम्रो बस्ती भत्काउनुभन्दा पहिले वास्तविक सुकुमवासीको प्रमाणीकरण गरिनुपर्थ्यो । प्रमाणीकरण गरिसकेपछि तपाईँहरू यहाँ जानुस् भनेर उचित स्थानमा सारिएको भए त्यो कदम स्वागतयोग्य हुन्थ्यो ।’

सरकार सबैको अभिभावक हो । उसको क्रियाकलाप वैधानिक र मान्य पनि हुनुपर्दछ । यससन्दर्भमा बेलायतका एक जना प्रधानन्यायाधीश लर्ड हेवर्टले भनेका थिए, न्याय गरेर मात्र पुग्दैन, न्याय दिएको पनि देखिनु पर्दछ ।

सरकारले छिटो गर्ने नाममा जे गरिरहेको छ त्यसले कहिले वैधानिकता त कहिले स्विकारोक्तिको प्रश्न जन्माएको छ ।

अध्येता रामचन्द्र श्रेष्ठ सरकार सक्रिय तर कता जाने हो भन्ने अलमलमा देखिएको बताउँछन् ।

बुटवललाई कार्यक्षेत्र बनाएका अध्येता श्रेष्ठ भन्छन्, ‘सरकार एकदमै एक्सन ओरिन्टेड देखिन्छ । तर संवाद र संसद्बाट स्विकारोक्ति नहुँदा यसको दिशा कता हो भन्नेमा अलमल र रहस्यमयी बन्न पुगेको छ ।’

संविधानविद् डा. विपिन अधिकारी सुकुमवासीको सन्दर्भमा सरकारले राम्रो शुरुआत गरेको बताउँछन् । कतिपय सन्दर्भमा आलोच्य भए पनि सरकारले गर्नैपर्ने काम गरेको उनको बुझाइ छ ।

सरकारले शासकीय सुधारका सय बुँदामा दुई महिनाभित्र लगत संकलन र प्रमाणीकरण सक्ने र एक हजार दिनभित्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । सरकारले त्यसै अनुसार काम गरेको देखिएको डा. अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले सरकारले गरेको घोषणा र पार्टीको वाचापत्र अनुसारै काम गरेको देखिन्छ ।’

यद्यपि सरकारको कतिपय क्रियाकलाप ‘हतारको काम लतरपतर’ जस्तो देखिएको डा. अधिकारीको निश्कर्ष छ । जस्तो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पुरा नगरेको उनी बताउँछन् ।

संविधानविद् डा. अधिकारी भन्छन्, ‘मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि भन्छु–पूर्व प्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायतमाथि गरिएको धरपकड गैरकानुनी हो ।’

नियत गलत नहुन सक्छ तर सरकारले संविधान र अन्य प्रचलित कानुनको ख्याल गरेको नदेखिएको सरोकारवालाहरू बताउँछन् ।

संविधानले स्पष्ट रुपमा प्रदेश र स्थानीय तहलाई एकल अधिकार दिएको क्षेत्रमा समेत संघीय सरकारले केन्द्रितकृत शासन व्यवस्था सम्झाउने गरी फर्मान जारी गरेको भन्दै विज्ञ तथा सरोकारवालाले विरोध गरे ।

संविधानको अनुसूची-८ मा आधारभूत र माध्यमिक तहको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । संघीय सरकारले विद्यालय कहिले खोल्ने ? कति दिन खोल्ने मात्र होइन परिक्षा सञ्चालन गर्ने निर्देशन समेत आफैंले दियो ।

त्यसपछि नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका महासंघले संघीय सरकारका शिक्षा मन्त्रीलाई भेटेर यसको कडा विरोध मात्र जनाएन, असंवैधानिक निर्देशन दिएको भन्दै धमाधम अवज्ञा गरे ।

सरकारले वैशाख २१ गतेपछि मात्र विद्यालय खोल्नु भने पनि अधिकांश विद्यायलयहरू सञ्चालनमा आइसकेका छन् ।

सरकारको अपरिपक्वता संघीय संसद् अधिवेशन बोलाउने बेलामा देखियो । सरकारले वैशाख ८ गते सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । वैशाख ९ गते राष्ट्रपतिले अधिवेशन आव्हान गरे । तर त्यसको भोलिपल्टै सरकारले दुबै सदनको अधिवेशन स्थगित गर्न सफारिस गरे ।

संसदीय मामिलाका जानकारहरू सरकारको यस्तो निर्णयलाई अपरिपक्व वा तयारी नपुगेको मात्र भन्न नमिल्ने बताउँछन् । सरकारले सदन छलेर आफूखुशी अध्यादेश ल्याउन यसरी हठात् अधिवेशन अन्त्य गरेको विगतका थुप्रै दृष्टान्तहरू छन् । सदनमा दुई तिहाई नजिक मत भएको र विगत दलभन्दा फरक हौं भन्ने पार्टीबाट यस्तो कुराको अपेक्षा गरिँदैन ।

एक महिना पुरा नहुँदै सरकारले दुई जना मन्त्रीलाई बिदा गर्नुपर्‍यो । कारण जे भए पनि गृहमन्त्री सुधन गुरुङ र श्रममन्त्री दीपक साहको बहिर्गमनले निर्विवादित हुन दिएन । एक हिसाबले हेर्दा यसलाई सरकारको शून्य सहनशीलता नीति भन्न सकिन्छ । अर्को हिसाबले गलत व्यक्तिको चयन पनि हो ।

आफ्नो वाचा अनुसारै सरकारले संविधान संशोधन बहसपत्रका लागि कार्यदल गठन गर्‍यो । विगतका संवैधानिक आयोगहरू विश्वेश्वरप्रसाद कोइराला, सूर्यनाथ उपाध्याय, ऋषिकेश शाह, अनिरुद्रप्रसाद सिंह, लक्ष्मण अर्याल, विश्वनाथ उपाध्याय जस्ता व्यक्तिहरूले गरेका थिए । यसपटक सरकारले प्रशासनिक बनाएको कतिपयको आलोचना छ ।

संविधानविद् डा. विपिन अधिकारी भने शुरुआती मस्यौदाका लागि बनेको कार्यदललाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।

लामो राजनीतिक अस्थिरता बीच बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेको बताउँछन्, समाजशास्त्री अजय यादव ।

जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका यादव दशर्कौंदेखि निराश जनताले एक जना व्यक्तिमा आशा देखेर मतदान गरेका थिए ।

‘त्यसैकारण जनतामा आकांक्षा धेरै छ । सरकारको अहिलेसम्मको काम हेर्दा राम्रै गरेको देखिन्छ,’ समाजशास्त्री यादव भन्छन्, ‘जोश बढी र होस कम देख्छु त्यसलाई सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ ।’

एक महिना नयाँ सरकार बालेन शाह रास्वपा समीक्षा

लेखक

सन्त गाहा मगर

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com