मुख्य राजमार्ग बन्द

साउन ३० - अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (इलाम न.पा. ०९, राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटोको व्यवस्था नभएकाले यात्रुहरू समस्यामा परेका छन्। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक अवरुद्ध भए पनि हाल एकतर्फी रूपमा सुचारु गरिएको छ।
बागमती प्रदेशका मुख्य सडकहरूमा जोखिम बढ्दो छ। बीपी राजमार्ग ९सिन्धुली(नेपालथोक खण्ड० मा बाढीको सम्भावनाका कारण राति ६: ०० बजेदेखि बिहान ४: ०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४: ०० देखि साँझ ६: ०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोका कारण रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत कोदारी र लिपिङ खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने चारकिलो क्षेत्रमा एकतर्फी सुचारु छ। रसुवाको त्रिशूली-मैजुङ-स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ।
गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। बागलुङको कालीगण्डकी कोरिडोर भने एकतर्फी सुचारु छ। लुम्बिनी प्रदेशको रुकुम पूर्वमा मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी कोरिडोर (जाजरकोट-डोल्पा सडक खण्ड) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन २६ गतेदेखि नै यो सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



