मदन–आश्रितको ३३औँ स्मृति दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेकपा एमालेले मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरेको छ । यस्तै,मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।
उनले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई अघि बढाएको उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भण्डारी र आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गर्दै भण्डारीको जनताको बहुदलीय जनवादले क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गरेका छन् ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



