रसुवाको बाढीले कर्णालीमा चिन्ता, १३४ जना सम्पर्कविहीन

काठमाडौं , भदौ ११ - रसुवामा बुधबार आएको बाढीमा परी कर्णाली प्रदेशका १३४ जना नागरिक सम्पर्कविहीन भएका छन्। रोजगारीका लागि रसुवा, नुवाकोट र त्रिशूली क्षेत्र पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार सम्पर्कविहीन हुनेमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र ३ जना बालिका छन्।
प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै सल्यानका नागरिक सम्पर्कविहीन भएका छन्। सल्यानका ४९ जना सम्पर्कविहीन रहेको बताइएको छ। त्यस्तै जुम्लाका ३१, हुम्लाका १२, मुगुका १२, सुर्खेतका ११, कालिकोटका ५, दैलेखका ५, रुकुम पश्चिमका ४, जाजरकोटका ३ र डोल्पाका २ जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन भएका नागरिकको खोजीका लागि परिवार तथा आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा जानकारी गराएका छन्। उनीहरूले बेपत्ता भएका आफन्तको अवस्था तत्काल पत्ता लगाउन पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यता, घटनामा कर्णालीका नागरिकसमेत प्रभावित भएको जानकारी पाएपछि प्रदेश सरकार गम्भीर बनेको छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बाढीका कारण प्रदेशका नागरिक सम्पर्कविहीन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले सम्पर्कविहीन कर्णालीवासीको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। उनका अनुसार नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहललाई तीव्रता दिइएको छ।
बाढीपछि ठूलो संख्यामा कर्णालीका नागरिक सम्पर्कविहीन भएपछि आफन्तहरू चिन्तित बनेका छन्। उनीहरूले राज्यका सम्बन्धित निकायलाई खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



