Global TV Logo
लोड हुँदैछ...

लाइसेन्स छपाईको लागि सरकारसँग दोस्रो चरणको सम्झौता के भयो ?

B
Buna Ghimire
२०२६-०५-११, १२:२२ PM
होमपेज/समाचार
लाइसेन्स छपाईको लागि सरकारसँग दोस्रो चरणको सम्झौता के भयो ?

लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स छपाई कार्यलाई निरन्तरता दिन सरकारले दोस्रो चरणको सम्झौता गरेपछि थप तीव्रता पाएको छ ।

 झन्डै चार वर्षदेखि थन्किएर बसेका करिब ३० लाख स्मार्ट लाइसेन्स छपाई तथा वितरणलाई प्राथमिकतामा राख्दै अहिले दैनिक ठूलो संख्यामा छपाईको काम भइरहेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच स्मार्ट लाइसेन्स छपाईका लागि यसअघि गरिएको सम्झौताअनुसार १२ लाख कार्ड छाप्ने जिम्मेवारी दिइएको थियो । उक्त सम्झौताको अवधि बैशाख १२ गतेसम्म मात्रै कायम रहेपनि पुनः दोस्रो चरणको सम्झौता गरेसँगै कामले निरन्तरता पाएको हो । दोस्रो चरणको सम्झौता बैशाख १३ गते भएको थियो । यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाकाअनुसार दोस्रो चरणको सम्झौतासँगै स्मार्ट लाइसेन्स छपाई कार्यलाई थप प्रभावकारी बनाएको छ । उनले सरकारले असार मसान्तभित्र सबै रोकिएका लाइसेन्स छपाई सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । गत कार्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुरक्षण मुद्रण केन्द्रले दैनिक ४० हजार थान लाइसेन्स छपाई गरिरहेको छ । निर्देशक खतिवडाका अनुसार पहिलो चरणको सम्झौता अवधि सकिन लागेपछि काम रोकिने अवस्था रहेकोमा सेवाग्राहीलाई समस्या नहोस् भनेर दोस्रो चरणको सम्झौता गरि छपाईलाई निरन्तरता दिइएको बताए । जेठ १ गतेदेखि दोस्रो चरणको छपाई सुरु हुने निर्देशक खतिवडाले बताए । हाल दैनिक ४० हजारसम्म स्मार्ट लाइसेन्स छाप्ने काम भइरहेको छ । चार वर्षदेखि रोकिएर रहेका झन्डै ३०  लाख स्मार्ट लाइसेन्समध्ये हालसम्म करिब १२  लाख कार्ड छापिएको विभागको भनाई छ । छपाई भएका कार्ड देशभर रहेका ४२ वटा यातायात कार्यालयमा पुगिसकेका छन् । अब सेवाग्राहीले सम्बन्धित कार्यालयबाट क्रमशः लाइसेन्स प्राप्त गर्न सक्नेछन् । सरकारले २४ घण्टाभित्र सेवाग्राहीलाई स्मार्ट लाइसेन्स उपलब्ध गराउने गरी प्रणाली सुधारको कामसमेत गरिरहेको छ । विभागकाअनुसार छपाई, परीक्षण र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएकाले अब विगतजस्तो लामो प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । छपाई भएका सबै लाइसेन्स विभागअन्र्तगत रहेका कार्यालयहरुमा हुलाक मार्फत पठाउने कार्य भैरहेका छन् । बाकी १७ लाख लाइसेन्स असार मसान्तभित्र छपाई सक्ने लक्ष्य विभागले राखेको छ ।  लामो समयदेखि आलोचना र गुनासोको विषय बनेको स्मार्ट लाइसेन्स समस्या समाधानउन्मुख देखिएको छ । दोस्रो चरणको सम्झौतापछि कामले गति लिएकाले निर्धारित समयभित्र सबै कार्ड वितरण हुने विश्वासपनि विभागको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com