हेटौँडा–काठमाडौं सडकमा सवारीका लागि फरक–फरक मार्ग तोकियो

काठमाडौं , भदौ १६ - बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध बनेपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेको छ ।
सडकमा सवारी चाप बढेपछि हेटौंडा–काठमाडौं सडकमा आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै जानुपर्नेछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । प्रशासनले मकवानपुरको त्रिभुवन राजपथ नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त बाटो प्रयोग नगरी सँगै रहेको डाइभर्सन मार्फत सञ्चालन गर्न अनुरोध गरेको छ । प्रशासनले तोकेको व्यवस्थाको पालना गरी सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



