३२औँ पटक सगरमाथा चढेर कामी रिता शेर्पाले फेरि बनाए विश्व कीर्तिमान, प्रधानमन्त्री शाहद्वारा बधाई

प्रधानमन्त्री बालेन्द्र शाह ले विश्व कीर्तिमानी नेपाली आरोही कामी रिता शेर्पा र लाक्पा शेर्पा लाई सगरमाथा आरोहणको ऐतिहासिक सफलताका लागि बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै नेपाली आरोहीहरूको यो उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाएको बताएका छन्। उनले यस सफलताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान थप उज्यालो बनाउने विश्वास व्यक्त गरेका छन्।
कीर्तिमानी आरोही कामी रिता शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा “सगरमाथा केवल भौगोलिक उचाइको प्रतीक मात्र नभई नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो,” उल्लेख गरेका छन्।
यस्तै, ‘माउन्टेन क्विन’ का रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान ९ः३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सर्वाधिक पटक सगरमाथा चढ्ने नयाँ विश्व कीर्तिमान कायम गरेकी छन्।
दुवै आरोहीको सफलताले नेपाललाई विश्व पर्वतारोहण क्षेत्रमा पुनः गौरवान्वित बनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



