ट्याङ्लाफाँटमा चलिरहेको कारमा अचानक आगो, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, साउन ५ - काठमाडौको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
आज बिहान ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको जानकारी दिएका छन् । चालक सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतक चालकको सनाखत भने हुन बाँकी छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने उपकरणको प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । पछि घटनास्थलमा दमकल समेत पुगेको थियो । गाडीमा कसरी आगो लाग्यो भन्नेबारे खुल्न सकेको छैन ।
आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



