चार अदालतबाट राहत पाएपछि रवि लामिछानेको कानुनी बाधा फुक्यो

काठमाडौं असार ६- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री समेत बन्न सक्नेगरी कानुनी बाधा फुकेको छ ।
विभिन्न चार वटा अदालतले सभापति लामिछानेविरुद्ध संगठित अपराध सम्बन्धी कसुर हटाउन अनुमति दिएसंगै कानुनी बाधा फुकेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँले संगठित अपराध सम्बन्धी कसुर हटाउन आदेश दिएको छ ।
यसअघि उनलाई स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोग दर्ता गर्दा संगठित अपराधको कसुर पनि लगाइएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा भने तीन वटा कसुरमा प्रतिवादी बनाइएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएको थियो । अहिले कास्की अदालतमा पनि सहकारी ठगीको मात्रै मुद्दा बाँकी छ ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाइएको छ । जिल्ला अदालत पर्सा र रूपन्देहीले पनि सहकारी ठगीबाहेकका कसुर हटाउन आदेश दिइसकेका छन् । अब उनीविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै बाँकी छ । यो जुनसुकै बेला मिलापत्र हुनसक्ने मुद्दा हो । मुख्य विषय नै पीडितले न्याय पाउनु भएकाले अन्य कसुर लगाउँदा त्यसमा ढिलाइ हुने अदालतहरूको व्याख्या छ ।
यसअघि रवि पाँचवटा अदालतमा धरौटी बुझाएर रिहा भएका थिए । चितवनमा भने उनलाई सुरुमै सहकारी ठगीको मात्रै अभियोग लगाइएको थियो । रविसँगै उनी जोडिएका पाँच वटै सहकारीका प्रतिवादीहरूका अन्य मुद्दा फिर्ता भएका छन् । सरकारको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट विचाराधीन छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



