बालेन सरकारपछि रास्वपा–भारत सम्बन्धमा नयाँ संकेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारत भ्रमण गर्ने उनी रास्वपाका पहिलो शीर्ष नेता बन्नेछन्। भारतको विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण जेठ १८ र १९ गते का लागि तय गरिएको बताइएको छ।भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका नेताहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुन सक्ने चर्चा भए पनि त्यसबारे औपचारिक पुष्टि भइसकेको छैन।यो भ्रमण पार्टीगत प्रकृतिको भएकाले लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गर्ने तयारी गरिएको छ। त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग समेत छलफल गर्ने बताइएको छ।भारतले नेपालका सत्तारुढ दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउने परम्परा यसअघि पनि कायम राख्दै आएको छ। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भारत भ्रमण गरेका थिए। उनीहरूले भाजपा मुख्यालयमा समेत भेटघाट गरेका थिए।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला रास्वपा सभापति लामिछानेको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दुई तिहाइ बहुमतसहित सरकार गठनपछि हुन लागेको उनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सन्देश दिन सक्ने अनुमान गरिएको छ।यसबीच भारत र चीनले लिपुलेक नाका हुँदै पुनः व्यापार सञ्चालन गर्ने घोषणा गरेपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो। बालेन नेतृत्वको सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा उल्लेखनीय प्रगति हुन नसकेको टिप्पणी भइरहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



