एसियन गेम्स पौडी खेलाडी छनोटमा धाँधली भएको आरोप

काठमाडौँ, असार ३ - पौडी खेलाडीहरुले एसियन गेम्स पौडी खेलाडी छनोटमा धाँधली भएको आरोप लगाएका छन् ।
जापानमा आयोजना हुने २० औं एसियाली खेलकूद (एसियन गेम्स) का लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर धाँधली र अनियमितता भएको भन्दै राष्ट्रिय खेलाडीहरूले आपत्ति जनाएका हुन् । नेपालका नम्बर एक पौडीबाज इर्भिन श्रेष्ठ, मेधावी केसीसहितका खेलाडीहरूले नेपाल पौडी संघले पूर्व सूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् ।
नेपाल पौडी संघले गत वैशाख १० गते सूचना जारी गर्दै २०८३ साल जेठ २३ र २४ गते आयोजना हुने ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’ लाई एसियन गेम्सको प्रारम्भिक छनोटको रूपमा घोषणा गरेको थियो । सूचना अनुसार उक्त प्रतियोगिताबाट महिला र पुरुषतर्फ ८–८ जना खेलाडी छनोट गरी असारको तेस्रो साता अन्तिम छनोट प्रतियोगिता गराइने तय थियो ।
तर, जेठ २३ गते पहिलो दिनको खेल सकिएपछि २४ गते बिहान विना छाप र हस्ताक्षरको सूचना सामाजिक सञ्जाल र खेलस्थलमा टाँसेर सोही च्याम्पियनसिपलाई नै अन्तिम छनोटमा परिणत गरिएको र २–२ खेलाडी मात्र छनोट हुने भनिएको खेलाडीको जिकिर छ । आधाभन्दा बढी खेल सकिएपछि खेलको मापदण्ड नै बदल्नुमा ठूलो षड्यन्त्र र चलखेल भएको खेलाडी इर्भिन श्रेष्ठले आरोप लगाएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



