कन्सलटेन्सीको नाममा अवैध कार्य गर्नेहरु पक्राउ, के हुन्छ प्रक्रिया ?

उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका शैक्षिक परामर्श दिने संस्थाहरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको छ । उपत्यकको विभिन्न क्षेत्रमा आवश्यक दर्ता प्रक्रिया पुरा नगरी तथा वैदेशिक अध्ययनका लागि विद्यार्थी पठाउने आधिकारिक अनुमति नलिई सञ्चालन भइरहेका एजुकेसन कन्सल्टेन्सीमाथि प्रहरीले अनुगमन तथा कारबाही थालेको हो ।
कार्यालयले गत शुक्रबार ९५ कन्सलटेन्सीमा छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिएको थियो । उपत्यकका विभिन्न क्षेत्रमा आवश्यक दर्ता प्रक्रिया पुरा नगरी तथा वैदेशिक अध्ययनका लागि विद्यार्थी पठाउने आधिकारिक अनुमति नलिई सञ्चालन गरिएका कन्सल्टेन्सीमाथि प्रहरीले अनुगमन तथा कारबाही थालेको हो । पक्राउ परेकालाई कार्यालयले सोमबार अदालतमा उपस्थित गराएर आवश्यक प्रक्रिया अगाडी बढाएको छ भने केही कन्सल्टेन्सीविरुद्ध उजुरीसमेत परेको छ । यसरी दर्ता नभएका र मापदण्डविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले छानबिन थालेपछि अहिले कन्सल्टेन्सीबाट पीडित बनेकाहरु प्रहरीमा पुग्न थालेका छन् शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी प्रहरीले ६८ कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको थियो । जसमध्ये हाल २७ जना कार्यालयको हिरासतमा रहेका छन् भने ५ जना अदालतको आदेशमा छुटेका छन् । यता, बाँकी ३६ जनालाई कार्यालयले हाजिरी जामानीमा छाडेको छ । प्रहरीले गरेको अनुगमनका क्रममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नभएका, शिक्षा मन्त्रालयबाट आवश्यक स्वीकृति नलिएका तथा भिजिट भिसा र अध्ययन प्रक्रियामा अनियमितता गरेको आशंकामा सञ्चालक पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले पक्राउ परेकामाथि ठगी, सरकारी कागजात दुरुपयोग, बिनाअनुमति वैदेशिक अध्ययन परामर्श सेवा सञ्चालन तथा विद्यार्थीलाई भ्रममा पारेर आर्थिक लाभ लिएको आरोपमा अनुसन्धान भइरहेको बताए । उनले पछिल्लो समय विदेश पठाइदिने नाममा विद्यार्थीबाट ठूलो रकम असुल्ने, नक्कली अफर लेटर बनाउने, भिसा प्रक्रियामा झुटा कागजात प्रयोग गर्ने तथा वैदेशिक अध्ययनको नाममा मानव तस्करीसम्म हुन थालेपछि निगरानी कडा बनाइएको बताए ।अनुगमनका क्रममा प्रहरीले केही कन्सल्टेन्सीबाट कम्प्युटर, कागजात, राहदानीको प्रतिलिपि, बैंक भौचर तथा विद्यार्थीका फाइलसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले अभिभावक तथा विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श सेवा लिनुअघि सम्बन्धित संस्था दर्ता भएको वा नभएको, शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरेको वा नगरेको तथा आधिकारिक कर अभिलेख रहेको वा नरहेको जाँच गर्न आग्रह समेत गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



