बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

भदौ ८ - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभामा आज विश्वासको मत लिँदैछन् ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थापाले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री थापाले यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । तर, मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेको छ ।
बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारका लागि भदौ ३ गते दाबी पेश गरेका थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसैबीच,राप्रपाले मुख्यमन्त्री किरण थापा मगरले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ह्विप जारी गरेको छ । बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी ह्विप आईतबार दिउँसो नै प्रदेशसभाका सबै सदस्यहरुलाई पठाइएको छ । प्रदेश सरकारमा सहभागीताको विषयलाई लिएर राप्रपामा अहिले प्रदेश र केन्द्रबिच विवाद छ । केन्द्रको निर्णय विपरीत बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुने निर्णय गरेका थिए । लगत्तै थापा नेतृत्वको सरकारमा राप्रपाका तीन सांसद सहभागी भएका थिए । उनीहरूलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण समेत सोधेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



