राजमार्ग होटलको मनपरीविरुद्ध व्यवसायी महासंघको आपत्ति

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताएका छन । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्युनिकरण अभियान कार्यक्रममा अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पारे । अध्यक्ष सिटौलाले सवारी साधनहरूमा जीपीएस प्रणाली, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दुर्घटनाको समयमा यथार्थ विवरण पत्ता लगाउन र सडकमा हुने विवाद अन्त्य गर्न पनि प्रविधि आवश्यक रहेको उनको तर्क थियो । उनले सवारी जाँचपास र रुट पर्मिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह समेत गरे । राजमार्गमा सञ्चालित होटलहरूले यात्रुलाई अस्वस्थकर खाना खुवाउने र चर्को शुल्क लिने गरेकोप्रति अध्यक्ष सिटौलाले आपत्ति जनाए । होटलहरूको नियमित अनुगमन गरी गुणस्तरीय र स्वस्थकर खानाको सुनिश्चितता गर्न उनले सरकारको ध्यानाकर्षण गराए । चालक र सहचालकलाई होटलको कमिसनको लोभमा नफसी यात्रुको स्वास्थ्य र सुविधालाई प्राथमिकता दिन उनले निर्देशन दिए । सिटौलाले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकहरूलाई महासंघले कुनैपनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे । यसका साथै, बजारमा भित्रिएका नक्कली पार्टपुर्जाहरूका कारण पनि दुर्घटना बढेको भन्दै उनले वर्कसपहरूको उचित मापदण्ड तोक्न र सीमा नाकाबाट भित्रिने सामग्रीको गुणस्तर जाँच गर्न सरकारसँग माग गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



