तीन दलीय प्रदेश सरकारको प्रस्तावमा कांग्रेसको स्पष्ट असहमति

काठमाडौं, साउन ३ - प्रदेशमा प्रमुख तीन दलको संयुक्त सरकार गठन गर्ने प्रस्तावमा नेपाली काँग्रेसले प्रष्ट असहमति जनाएको छ ।
प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने भन्दै कांग्रेसका सभापति गगनकुमार थापाले विमति जनाएका हुन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले संयुक्त सरकार बनाउँदा लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने तर्क गरे ।
सभापति थापाले तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेटविपरित हुने र काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे । विगतमा सत्ताकै लागि पार्टीले गल्ती गरेको स्वीकार गर्दै उनले अब सिद्धान्तमा सम्झौता नगर्ने दाबी गरेका छन् । सत्तालाई नै सबैथोक मान्ने सोचका कारण ०७२ सालयता राजनीति अस्थिर र दिशाहीन बनेको थापाको तर्क छ ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उनले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने अवस्थाले गर्दा राजनीतिको साख गिरेको बताए ।
सत्ता नै सबै कुरा हो भन्ने मान्यताले काँग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको सभापति थापाको भनाइ छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



