Global TV Logo
लोड हुँदैछ...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्न डंगोलको जोड

S
Sristi Thakuri
२०२६-०९-२०, १०:४६ AM
होमपेज/राजनीति
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्न डंगोलको जोड

काठमाडौं  , असोज ४ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमामात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताएकीछिन् । 

ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गरेकी हुन् । रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसोमात्र नभई रातिसमेत चलायमान बन्ने बताउँदै उनले वैशाख १ गतेदेखि परीक्षणकारूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको जानकारी दिँदै उनले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमामात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताइन् । नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उनको भनाई थियो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रश्ताव गरेका थिए । सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्युन आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने प्रमुख महर्जनको भनाई थियो । रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रश्ताव गर्दै त्यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनको जिकिर थियो । महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्नेसमेत बताए । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ । 

डंगोलले रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगरमात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने बताएकी थिइन् भने महर्जनले मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्नसक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने बताएका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com