विदेशमा रहेका नेपाली श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावरलाई विभागको निर्देशन

काठमाडौं असार ६- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।
विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसारको तलब र सेवा–सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै गुनासो गरेपछि सरकारले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिएको हो । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै म्यानपावरलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको छ ।
नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र श्रम अधिकारको प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनबमोजिम विभागले यो नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि प्रत्येक म्यानपावर कम्पनीले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूहका श्रमिकहरूको अवस्थाबारे अनिवार्य र नियमित रूपमा अनुगमन गर्नुपर्नेछ ।
अनुगमनका क्रममा रोजगार सम्झौता विपरीतको अवस्था भेटिएमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी सम्झौताका सर्तहरू कार्यान्वयन गराउनुपर्नेछ । यसरी संकलन गरिएको विवरणलाई विभागले तोकेको ढाँचामा प्रत्येक ३ महिनामा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा बुझाउनुपर्नेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



