दिल्लीमा आगोको कहर, होटलमा फसेका २१ जनाको मृत्यु

भारतको राजधानी दिल्लीस्थित मालवीय नगरमा रहेको एक होटल–रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लेमन ग्रिन रेस्टुरेन्टबाट सुरु भएको आगो माथिल्लो तलामा रहेको होटल फ्लोरिस स्टेमा फैलिएको थियो। बिहान करिब ८ः५० बजे लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रक टोली परिचालन गरिएको थियो।
मृतकहरूमध्ये मध्य एसिया र अफ्रिकी मुलुकका नागरिक समेत रहेको बताइएको छ। यद्यपि सबै मृतकको पहिचान भने अझै खुल्न बाँकी छ।
उद्धार टोलीले अहिलेसम्म ३७ जनालाई सुरक्षित बाहिर निकालेको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ। केही व्यक्तिलाई भवनको बेसमेन्टबाट समेत उद्धार गरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ज्यान जोगाउन मानिसहरू जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ। स्थानीय बासिन्दाले उद्धारमा सहयोग गर्न भवनमुनि गद्दा समेत बिछ्याएका थिए।
आगलागीको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



