‘सुपर एल निनो’को जोखिमप्रति उच्च सतर्कता अपनाउन ऊर्जामन्त्री श्रेष्ठको आग्रह

काठमाडौं , भदौ ५ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा पर्नसक्ने ‘सुपर एल निनो’ को प्रभाव र त्यसले निम्त्याउने खडेरीप्रति उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन ।
जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्ने चेतावनी दिए । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्यांक उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना ९० प्रतिशत पुगेको जानकारी दिए । नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसतभन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको तथ्य स्मरण गराउँदै मन्त्री श्रेष्ठले असारदेखि नै हुनुपर्ने तयारीमा ढिलाइ भएको स्वीकार गरे । नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भएपनि हिउँदका चार महिना (नोभेम्बरदेखि अप्रिलसम्म) अझै पनि आयातमा निर्भर रहनुपरेको मन्त्री श्रेष्ठको भनाइ छ । एल निनोको उच्च प्रभाव नेपालले विद्युत आयात गर्ने समयमा पर्ने भएकाले यसले थप जोखिम निम्त्याउने उनले बताए ।
नेपालका अधिकांश सिंचाई प्रणाली साना र मध्यम नदीमा आधारित रहेकाले खडेरीले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्ने उनले उल्लेख गरे । सन् २००८–०९ को हिउँदे खडेरीका कारण गहुँ र जौको उत्पादनमा क्रमशः १४ दशमलव ५ र १७ दशमलव ३ प्रतिशतले गिरावट आएको उदाहरण दिँदै उनले आगामी संकटप्रति सचेत रहन आग्रह गरे । मन्त्री श्रेष्ठले ढिलो गरी गरिने विपद् घोषणाको प्रभावकारिता नहुने तर्क गर्दै ‘स्लो डिजास्टर’ अर्थात खडेरीका लागि पूर्व–सहमत मापदण्ड तय गर्न निर्देशन दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



