‘परराष्ट्रमन्त्री खनाल चीन जाँदै, वाङ यीसँग सीमा विवादको विषय उठाउने तयारी’।

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएपछि चीनमा रहेको नेपाली दूतावासले तयारी सुरू गरेको छ ।
परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बिहान चीन पुग्ने कार्यतालिका छ । यद्यपि परराष्ट्रमन्त्रालयले उनको चीन भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा भने गरिसकेको छैन । चीनस्थित नेपाली दूतावासले जेठ ३१ गते साँझ ५ गते बेइजिङमा रहेका नेपालीहरूसँग परराष्ट्रमन्त्री खनालको अन्तक्र्रिया कार्यक्रम राखेको छ । यस्तै,असार १ गते बिहान चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
उक्त छलफलमा नेपाल चीनबीच शिक्षा, विज्ञान र प्रबिधिमा चीन र नेपालबीच हुन सक्ने सहकार्यका बारेमा छलफल हुँदैछ । असार १ गते दिउँसो र २ गते भने परराष्ट्रमन्त्री खनालले राजनीतिक भेटघाट गर्नेछन् । त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ । यस्तै असार २ गते साँझ हुने लगानी सम्मेलनमा पनि परराष्ट्रमन्त्री खनाल हुनेछन् ।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको समस्याका बारेमा समकक्षी वाङ यीसँग कुरा उठाउने तयारी गरेका छन् । यसअघि परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । बेइजिङ भ्रमण सकेर उनी असार ३ गते साँझ नेपाल फर्किनेछन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



