परराष्ट्रमन्त्री खनालको चीन भ्रमण सफल, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ, असार ३ - परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबिच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ ।
चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहो¥याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकतामा पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ । यसैगरी, विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बहुपक्षीय एवम् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



