निर्माण क्षेत्रको समस्या समाधानमा सरकार असफल : सांसद गोपाल शर्मा

काठमाडौं , साउन २५ - नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले प्रतिवद्धता जनाएपनि त्यसको कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन ।
सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले बिटुमिन, डिजेल तथा पेट्रोलको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू काम रोक्ने अवस्थामा पुगेको बताए । बिटुमिनको मूल्य करिव २०० प्रतिशतसम्म बढेको उनको भनाई छ । निर्माण व्यवसायीहरूले मूल्यवृद्धिको समस्या समाधान नभएसम्म काम अघि बढाउन नसकेको उनले बताए ।
निर्माण व्यवसायीले काम नगरेको अवस्थामा ठेक्का तोड्न कानुनले स्पष्ट व्यवस्था गरेपनि सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको उनको भनाई छ । उनले रुकुम र जाजरकोट जोड्ने मध्यपहाडी सडकअन्तर्गतको एउटा पुल १४ वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको उदाहरण दिँदै सरकारको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाए । शर्माले समस्या भएको स्थानमा पुगेर समाधान खोज्नुपर्नेमा सम्बन्धित मन्त्रीसमेत समस्या छल्दै अन्यत्र गएको आरोप लगाए ।
कानुनी तथा नीतिगत समस्या भएमा त्यसलाई समाधान गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको उनको भनाई छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


