सेयर बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओ छुटदेखि नेप्से पुनःसंरचनासम्म

काठमाडौं , भदौ ३० - सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ ।
भोटेकोशीमा आएको बाढीबाट अनपेक्षित रूपमा सूचीकृत जलविद्युत् आयोजनालगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना जारी गरेको हो । अर्थ मन्त्रालयले जारी गरेको कार्ययोजनामा प्राथमिक सेयर निष्कासन आईपीओ छुटदेखि बजारमा अत्यावश्यक पूर्वाधार निर्माण, नेपाल स्टक एक्सचेन्जको पुनःसंरचनादेखि कर छुटसम्मका योजना छन् । आईपीओ गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्डले तत्काल जारी गर्ने कार्ययोजनामा बताइएको छ । ऋणपत्र बजार, मुद्रा बजारलगायत उपकरण विकास गर्न सामूहिक लगानी कोषलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री बनाइने उल्लेख छ । नेप्सेको संस्थागत सुदृढीकरण र संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिका लागि नेपाल सरकारबाट गठित कार्यदलले पेस गरेको प्रतिवेदनअनुरूप पुनःसंरचना कार्य तत्काल अगाडि बढाउने उल्लेख छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



