बाढी प्रभावित क्षेत्रमा महामारी नियन्त्रण र स्वास्थ्य सेवा विस्तारमा सरकारको तीव्रता

काठमाडौं , असोज ८ - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा फैलन सक्ने महामारी नियन्त्रण र स्वास्थ्य सेवा प्रवाहबारे सरकारको ठोस कार्ययोजना प्रस्तुत गरेकी छन ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा उनले प्रभावित क्षेत्रमा हैजा नियन्त्रण, नियमित खोप, पोषण सेवा र आपतकालीन स्वास्थ्य परामर्शलाई तिब्रता दिइएको जानकारी दिइन । सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहताले सरकारले एकीकृत रूपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताइन । उनले विशेषगरी रसुवा र नुवाकोटमा सञ्चालित हैजा विरुद्धको खोप अभियान र प्रभावित क्षेत्रमा पिउने पानीको शुद्धीकरणका लागि क्लोरीन र पियुष ट्याब्लेट वितरण कार्य जारी रहेको बताइन । मन्त्री मेहताले होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मीको परिचालन, नियमित स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको जानकारी दिइन । बालबालिकाको पोषण सुरक्षाका लागि ‘रेडी टु युज थेरापेटिक फुड’ र बालभिटालगायतका सामग्री वितरण भइरहेको उनले बताइन् । साथै, दीर्घ रोगीहरूका लागि नियमित औषधिको सुनिश्चितता गर्न मन्त्रालयले वेबसाइटमार्फत फोकल पर्सनहरूको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।
मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा करिव ८ हजार ७ सय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिइन । उनका अनुसार हाल ३४ वटा आकस्मिक चिकित्सा टोलीमार्फत करिव १५० जना स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन । जोखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको उनले बताइन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



