हिमाली क्षेत्रमा ठूलो खतरा, हिमाल पग्लिँदै, तटीय क्षेत्र विनाश हुँदै

काठमाडौं , भदौ १० - जलवायुजन्य जोखिम न्युनिकरण विज्ञ उज्वल उपाध्यायले विपद् आउनुपूर्वको एक मिनेटको सूचनाले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिने भन्दै तत्काल अन्तरदेशीय सूचना आदानप्रदान संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याए । रसुवा बाढी दुर्घटनामा पूर्वसूचना भएको भए मानवीय क्षति कम गर्नका साथै सुन्यमा झार्न सकिने अवस्था रहेको उनले बताए । उच्च हिमालमा पानी परेको वा हिउँ पहिरो गएको वा हिमताल फुट्ने जोखिम रहेको जस्ता सूचना चिनियाँ पक्षसँग मात्र हुने भएकोले पूर्वतयारी गर्न नसकिएको उनले बताए । यदि सूचना आदानप्रदान गर्न सक्ने संयन्त्र बनेको भए क्षति कम गर्न सकिने धेरै सम्भावना हुने उपाध्यायले बताए ।
हिन्दुकुश काराकोरम हिमालय क्षेत्रका मुलुकहरूमा लामो समयदेखि यस्तो पूर्वसूचना प्रणाली स्थापनाको बहस भइरहे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञ उपाध्यायले बताए । माथिल्लो तटीय क्षेत्र जस्तैः तिब्बतमा ठूलो वर्षा हुँदा वा हिमताल विस्फोट हुँदा त्यसको प्रत्यक्ष र भयानक असर कयौँ माइल तल अर्थात नेपालतर्फ पर्ने गरेको छ । माथि सानो–ठूलो घटना हुनेबित्तिकै सूचना दिएर तल्लो क्षेत्रका नागरिकलाई सुरक्षित बनाउन साझा सूचना केन्द्रको अभाव रहेको उनको भनाइ छ ।
बाढीले ठूलाठूला पूर्वाधार र घरै बगाए पनि मानवीय र अन्य महत्वपूर्ण क्षति रोक्न पूर्वसूचना प्रणाली प्रभावकारी हुने विज्ञ उपाध्यायले बताए । दुई वा दुईभन्दा बढी देशबीचको मामिला भएकाले कूटनीतिक र प्राविधिक चुनौतीहरूका कारण यो प्रणाली स्थापना गर्ने विषयले पूर्ण गति लिन नसकेको स्वीकार गर्दै उनले बढ्दो जलवायु जोखिमलाई मध्यनजर गर्दै क्षेत्रीय तहमा सहकार्य गर्नुको विकल्प नभएको बताए । अन्तरदेशीय सहकार्य भएमा मात्र सीमापार विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने उनको निष्कर्ष छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



