हत्या अभियुक्तको बयान भिडियो कसरी बाहिरियो ? संग्रौलाले मागिन् छानविन

काठमाडौं , भदौ ८ - बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका एक अभियुक्तले प्रहरीसमक्ष दिएको भनिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले आपत्ति जनाएकी छन्।
सांसद संग्रौलाले सोमबार सामाजिक सञ्जालमार्फत गम्भीर आपराधिक घटनासँग सम्बन्धित बयानको भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा छानविन गर्न माग गरेकी हुन्।
उनले संवेदनशील तथा क्रूर घटनासँग जोडिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत गम्भीरतापूर्वक सोच्नुपर्ने बताएकी छन्। पीडित परिवार, बालबालिका तथा आम नागरिकमा यस्ता सामग्रीले नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्न सक्ने भन्दै उनले सार्वजनिक गर्ने कार्यप्रति असन्तुष्टि जनाएकी हुन्।
संग्रौलाले प्रहरी अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री कसरी बाहिरियो भन्ने विषयमा सम्बन्धित निकायले छानविन गरी दोषी देखिए कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेकी छन्।
बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोप लागेकामध्ये एक किशोरले प्रहरीसमक्ष दिएको भनिएको बयानको भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
घटनाको अनुसन्धानका क्रममा संकलित संवेदनशील सामग्री सार्वजनिक हुनु अनुसन्धानको गोपनीयता, पीडितको सम्मान र कानुनी प्रक्रियामाथि समेत प्रश्न उठाउने विषय बनेको छ। सांसद संग्रौलाको माग यस्ता सामग्री सार्वजनिक हुने अवस्थाको छानविन र जिम्मेवार व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन केन्द्रित छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



