आर्थिक समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य : सीएनआई अध्यक्ष पाण्डे

काठमाडौं, असार ३२ – नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउँदै सीप विकासका कार्यक्रमहरू निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन ।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीवार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकहरूको तुलनामा निकै कमजोर रहेको बताए । हाल उपलब्ध तथ्याङ्कअनुसार नेपाल अन्तिमबाट तेस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले हाल भइरहेका सीप विकासका प्रयासहरू छरिएका र नतिजामुखी हुन नसकेको टिप्पणी गरे । अध्यक्ष पाण्डेले सरकारी स्तरबाट हुने तालिमहरू विभिन्न १७ वटा मन्त्रालय र विभागहरूबाट छरिएर सञ्चालन हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । १ सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा कमजोर मानव संशाधन मुख्य चुनौती बन्न सक्ने उनको तर्क छ । तालिम केन्द्रहरूले कति संख्यामा जनशक्ति उत्पादन गरे भन्ने ’आपूर्ति केन्द्रित’ सोंचभन्दा पनि उद्योगलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने ‘माग केन्द्रित’ पद्धति अपनाउनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष पाण्डेले परिसंघ आफैँले केही समयअघि ३ हजार ३ सय ७५ जनालाई तालिम दिएर ३ हजार २ सय जनालाई रोजगारी दिलाउन सफल भएको बताए । सरकारले ल्याएका कतिपय प्रशिक्षण कार्यक्रमहरू कार्यविधिको जटिलताका कारण पूर्ण सफल हुन नसकेको भन्दै उनले कार्यविधिमा समयसापेक्ष सुधार गर्न सुझाव दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



