रसुवा बाढीपछि पूर्वाधार पुनर्निर्माण तीव्र पार्न सरकारलाई निर्देशन

काठमाडौं , भदौ १८ - प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार बसेको समितिको बैठकले बाढीमा वेपत्ताहरुको खोजी उद्धारसँगै पूर्वाधार पुनर्निर्माण र पुनःस्थापनालाई तिब्रता दिन सरकारलाई निर्देशन दिएको हो । बाढीबाट प्रभावित क्षेत्रमा कयौं मानिसहरु अझै फँसेर बसेकाले खोज तथा उद्धार अभियानलाई तिव्रता दिन समितिले सरकारलाई निर्देशन दिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए । समितिले विपद्का कारण अवरुद्ध भएको सम्पर्क सञ्जाललाई तत्काल पुनःस्थापित गर्न पनि सरकारलाई निर्देशन दिएको छ । तुईन, झोलुंगे पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढाउन समितिले निर्देशन दिएको हो । विद्युत् आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ । विद्युत अवरुद्ध भएका क्षेत्रमा तत्काल विद्युत् जडान गर्न जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको सभापति गजुरेलले जानकारी दिए ।
समितिले उद्धारपछि पुनःस्थापना तथा पुनर्निर्माणका काममा स्वदेशी तथा विदेशी सहायता, निजी लगानी र वैदेशिक लगानी परिचालन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ । सभापति गजुरेलले विपद् व्यवस्थापनमा ‘संस्थागत स्मृति’ महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपद्बाट प्राप्त चेतावनी, अनुभव र सिकाइलाई संस्थागत गरेर आगामी जोखिम न्युनिकरणमा ध्यान दिनुपर्ने बताए । समितिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका लागि बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



