कुर्सी मोहका लागि सिद्धान्त नत्याग्न पार्टी नेतृत्वलाई खनालको आग्रह

काठमाडौं, साउन ३ - नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग अपवित्र साँठगाँठ नगर्न आफ्नो पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले प्रदेशमा सत्ता समीकरण परिर्वतनको भइरहेको भन्दै दक्षिणपन्थी शक्तिहरुसंग अपवित्र गठबन्धन नगर्न चेतावनी दिएका हुन् । विशेषगरी प्रदेश सभामा सरकार बनाउने सन्दर्भमा भइरहेका राजनीतिक कसरतप्रति लक्षित गर्दै उनले कुनै पनि नयाँ राजनीतिक समीकरण बनाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको टिप्पणी गर्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नेता खनालले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि आमजनताको आशा निराशामा परिणत भएको पनि दाबी गरेका छन् ।
वर्तमान सरकारको पालामा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकीसँगको सम्बन्ध र राज्यका अंगहरुबीचको सम्बन्धसमेत खलबलिन थालेको उनको आरोप छ ।
विगतमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर कम्युनिस्ट पार्टीले गल्ती गर्दै आएको जिकिर गर्दै खनालले फेरि त्यस्तै साँठगाँठ गरेर पार्टीको प्रतिष्ठामा थप आँच पु¥याउने खतरा बढेको समेत टिप्पणी गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



