स्वास्थ्य बीमाबाट पाइने औषधि घट्यो, अब १ हजार १ सय २ प्रकार मात्रै उपलब्ध हुने

काठमाडौं , साउन २७ - सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १ सय २ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २ सय ८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए ।
नयाँ सूचीअनुसार १ सय ८७ प्रकारका औषधि हटाइएपछि औषधिको संख्या १ हजार १ सय २ मा झरेको हो । औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु हो । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए । बोर्डले नयाँ सुविधा थैली ३० असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो ।
स्वीकृत नयाँ व्यवस्था ५ साउनदेखि कार्यान्वयनमा आइसकेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



