रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै

जेठ २० - भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
मंगलबार नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेका सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैछन् । मंगलबार दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको विषयले प्रवेश पाउन सकेन ।
तर,प्रधानमन्त्री मोदीसंगको भेटवार्तामा सभापति लामिछानेले सीमा समस्याबारे चर्चा गर्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबिच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यस क्रममा सीमाको मुद्दा नउठ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग विशेष भेटवार्ता गरेका छन् । भारतीय राजनीतिमा शक्तिशाली मानिने गृहमन्त्री शाहले विगत सात वर्षको कार्यकालमा विरलै मात्र कुनै विदेशी दलका अध्यक्ष वा नेतासँग यसरी द्विपक्षीय भेटघाट गर्ने गरेका छन् । त्यसैले,लामिछाने र शाहबिचको यो भेटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
दुवै नेताले नेपाल–भारतको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सुरक्षा र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए पनि सीमा विवादबारे भने कुनै कुराकानी नभएको स्रोतको भनाइ छ । यसैगरी,सभापति लामिछाने र भारतीय विदेशमन्त्री एस।जयशंकरबिच पनि भेटवार्ता भएको छ । विदेश मन्त्रालयमा भएको उक्त भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको समेत उपस्थिति थियो ।
लामिछानेले मंगलबार नै भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



