प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ६ अर्बभन्दा बढी जम्मा

काठमाडौं , भदौ १४ - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म साढे ६ अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १२ गते शुक्रबारसम्म कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको हो । हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि विभिन्न संघ संस्थामार्फत् यो रकम संकलन भएको हो । पछिल्लो विवरण अनुसार बाढीअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७ सय ५९ रुपैयाँ मौज्दात रहेकोमा विपद्पछिको छोटो अवधिमै ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २ सय ५२ रुपैयाँ थपिएको हो ।
बिहीबारसम्म कोषमा कुल ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६ सय ७० रुपैयाँ थियो । तर, शुक्रबार एकै दिन करिब २ अर्ब ४६ करोड रुपैयाँ थपिएर कुल मौज्दात साढे ६ अर्ब नाघेको हो । राहत कोषका लागि विभिन्न ९ वटा बैंकहरूमा खाता खोलिएको छ । नेपाली रुपैयाँका अतिरिक्त वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



