सभामुखको निर्देशनपछि संसद् बैठकबाट बाहिरिइन् सांसद आशिका तामाङ

काठमाडौं , भदौ २ - प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच भनाभनको अवस्था सिर्जना भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गर्न खोजेपछि सभामुखले सांसद तामाङलाई संसद्को मर्यादा र गरिमा कायम राख्न निर्देशन दिएका हुन् । बैठकमा केही दिनअघि सांसद तामाङले उठाएको विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफ आफूलाई चित्त नबुझेको भन्दै तामाङले त्यसबारे थप प्रश्न तथा स्पष्टीकरण राख्न सभामुखसँग समय माग गरिन् ।
तर, सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार मन्त्रीको जवाफपछि थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए । सभामुखले समय उपलब्ध नभएको बताए पनि सांसद तामाङले आफ्नो प्रश्न राख्न पाउनुपर्ने अडान लिइन् ।तामाङले निरन्तर बोल्न खोजेपछि सभामुख अर्यालले पटक–पटक आफ्नो आसनमा बस्न आग्रह गरे ।
सभामुखबाट बोल्ने समय नपाएपछि तथा आफूले माग गरेको स्पष्टीकरण राख्ने अवसरसमेत नपाएको भन्दै सांसद तामाङ अन्ततः संसद् बैठकबाट बाहिरिन् । यस घटनाले प्रतिनिधि सभाको बैठकमा सांसदले मन्त्रीको जवाफप्रति असहमति जनाउँदा थप प्रश्न वा स्पष्टीकरण राख्न पाउने प्रक्रियालाई लिएर बहससमेत सिर्जना गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



