रास्वपाको नयाँ विधान: नेतृत्व तहमा महिला सहभागिता अनिवार्य

काठमाडौँ, असार ८ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ ।
सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको हो । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति,दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ । यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष,एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ ।
अब केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ ।
प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ । चितवनमा हिजो उद्घाटन भएको रास्वपाको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । दिउँसो १ बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ ।
दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गरिने छ । भोलि बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



