ओलीको टिप्पणी : ‘भवितव्यबाट बनेको सरकार’, अनुभवहीन नेतृत्वले देश बर्बादीतर्फ

काठमाडौं , साउन ३१ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र नेतृत्वको वर्तमान सरकारलाई भवितव्यबाट बनेको सरकारको संज्ञा दिएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार गठनको प्रशंगलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरेका हुन् । मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको टिप्पणी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप समेत लगाएका छन् । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित विभिन्न क्षेत्रमाथि अंकुश लगाउन खोजेको उनको टिप्पणी छ ।
अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको समेत दाबी गरेका छन् । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन् । उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष ओलीले पार्टीमाथि वाह्य शक्ति र विरोधीहरूले तिब्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने उल्लेख गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



