चितवन महाधिवेशनको तयारी तीव्र, ४ करोड खर्च हुने अनुमान

काठमाडौँ, असार ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले अनिवार्य रुपमा लेबी बुझाएको हुनुपर्ने व्यवस्था गरेको छ । बिहीबार बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन आग्रह गरेका छन् । पार्टीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । साथै, प्रत्येक जिल्ला समितिबाट एक जना र प्रदेश समितिबाट तीन जनासम्म पर्यवेक्षक सहभागी हुन पाउने व्यवस्था गरिएको छ । महाधिवेशनमा ३८ भन्दा बढी देशबाट करिब १ सय ७० जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
महाधिवेशनको तयारीसँगै पार्टी विधान संशोधनको विषयमा पनि छलफल भएको छ । प्रस्तावित संशोधनअनुसार केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाइनेछ । भने प्रदेश सभापतिहरु पदेन सदस्य रहने व्यवस्था गरिनेछ । यसैबीच, सात प्रदेशमध्ये मधेश प्रदेशको अधिवेशन हाल स्थगित गरिएको छ भने अन्य ६ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको पार्टीले जनाएको छ । रास्वपाले महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । प्रतिनिधिबाट उठाइने दर्ता शुल्क, पार्टी सदस्य तथा शुभेच्छुकहरुको सहयोगबाट खर्च व्यवस्थापन गरिने जनाइएको छ ।
पार्टीकाअनुसार असार ६ गते साँझसम्म सम्पूर्ण तयारी पूरा गरी असार ७ गते चितवनमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ । महाधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनको अवसरका रुपमा लिएको रास्वपाले तयारीलाई तीव्र बनाएको छ । अब सबैको ध्यान चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनतर्फ केन्द्रित भएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



