वर्षा घट्दै, एक–दुई स्थानमा मात्रै भारी पानी पर्ने सम्भावना

साउन ४- अति भारी वर्षाको जोखिम भने पछिल्ला दिनको तुलनामा कम भएको छ । यद्यपि पहाडी क्षेत्रमा स्थानीय रूपमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने मौसमविद् बिनु महर्जनको सुझाव रहेको छ ।
छोटो अवधिका लागि वर्षाका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भए पनि दिनभरि नै व्यापक असर पर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।
देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन मौसमको समग्र प्रवृत्तिमा भने ठूलो परिवर्तन हुने छैन । अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना रहे पनि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल नदेखिएको हो ।
अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यो वर्षा क्रमशस् कम हुँदै जाने अपेक्षा गरिएको छ । साथै काठमाडौं उपत्यकामा अहिले साधारणतया बदली रहेको छ भने हिजोको तुलनामा आज मौसममा केही सुधार हुने देखिएको छ ।
आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना भने सीमित क्षेत्रमा मात्रै रहेको महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



