मौसमबारे अफवाह नफैलाउन आग्रह, असोज १७ देखि ठूलो वर्षाको पूर्वानुमान छैन

असोज १४ - सामाजिक सञ्जालमा असोज १७ गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै फैलिएको हल्ला निराधार रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा पुन : ठूलो वर्षा हुने चर्चा बढेपछि महाशाखाले त्यस्ता अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेको हो। महाशाखाले तत्काल ठूलो तथा लगातार वर्षा हुने कुनै पूर्वानुमान नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी आधिकारिक सूचना, पूर्वानुमान तथा बुलेटिनमा मात्रै विश्वास गर्न अनुरोध गरेको छ ।
गत बुधबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा लगातार झरी परेको थियो । आइतबार रातिदेखि वर्षा रोकिएपछि सोमबार बिहानदेखि अधिकांश स्थानको मौसम खुलेको छ। अहिले देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसममा हुने परिवर्तनबारे जानकारी लिन आधिकारिक स्रोतबाट जारी हुने नियमित सूचना तथा बुलेटिन हेर्न आग्रह गरेको छ। साथै, तथ्यहीन सूचना तथा अफवाह फैलाएर सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना नगर्नसमेत अनुरोध गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



