Global TV Logo
लोड हुँदैछ...

प्रेमीलाई भेट्न जेलब्रेक गरेकी सपना, अब प्रेमी पनि प्रहरी हिरासतमा

S
Sristi Thakuri
२०२६-०५-१८, १२:२८ PM
होमपेज/समाचार
प्रेमीलाई भेट्न जेलब्रेक गरेकी सपना, अब प्रेमी पनि प्रहरी हिरासतमा

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग हुँदादेखि नै अपराध कर्ममा संलग्न रहेकी सपना आफ्ना प्रेमीलाई भेट्न जेलब्रेक गरेको खुलेको छ । नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी तथा डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । देशकै सबैभन्दा सुरक्षित मानिएको केन्द्रीय कारागारबाट शंकास्पद रुपमा भागेकी सपना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध तथा कर्तव्य ज्यान कसुरमा जेल सजाय भोगिरहेकी उनी केन्द्रीय कागारागर सुन्धाराको महिला बन्दीगृहबाट भागेकी थिइन् । कारागारको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी शनिबार बिहान साढे १ बजे पर्खाल नाघेर भागेको खुलेको हो । नुवाकोटको विदुर नगरपाालिकाकी २५ वर्षीया सपना जन्मकैद सजाय भोगिरहेकी थिइन् । अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा तथा डाँका चोरीमा दोषी ठहर भएर उनी कारागार चलान भएको प्रहरीले जनाएको छ । अदालतबाट तोकिएको जन्मकैदको सजाय भुक्तान गरिरहेकी उनी प्रेमीलाई भेट्न कारागारबाट भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीसीटीभी फुटेजमा देखिएअनुसार उनले भुइँमा अग्ला सामान थुपारेर पर्खाल नाघेकी थिइन् । कारागार प्रशासन र सुरक्षाकर्मीलाई नै झुक्याएर भाग्न सफल भएपछि उनले प्रेमीलाई भेटेको पाइएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सपनाले लामो योजनापछि जेलब्रेक गरेकी हुन् । तामाङलाई जिल्ला अदालत रसुवाले २०७५ मा दोषी ठहर गरेको थियो । सपनाले ०७७ साल मंसिरमा एक बालिकाले कानमा लगाएको सुनको टप लुटपाट र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । त्यतिबेला उनी १९ वर्षकी थिइन् । उनी जेलबाट भागेको यो दोस्रो घटना हो । ६ वर्षदेखि सुन्धारा कारागारको महिला बन्दीगृहमा कैद भुक्तान गरिरहेकी सपना पहिलोपटक गत भदौंमा भएको जेनजी आन्दोलनका बेला भदौं २४ मा भागेकी थिइन् । पक्राउलगत्तै सुन्धारा पठाइएकी सपना गत शनिबार अर्थात जेठ २ गते बिहान करिब साढे १ बजे कारागारको सुरक्षा र काँडेतार लगाइएको पर्खाल नाघेर फरार भएकी हुन् । हालको घटनालाई प्रहरीले शंकास्पद रुपमा हेरेको छ भने कारागार प्रशासनले घटनाबारे छानबिन गरिरहेको छ । प्रहरीका अनुसार उनी फरार भएपछि आफ्ना प्रेमी समीर श्रेष्ठको सम्पर्कमा पुगेकी थिइन् । समीर भोजपुर घर भई हाल काठमाडौंमा बस्दै आएका २६ वर्षीय युवक हुन् । प्रहरीले सपनासँगै समीलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । सपना र समीरबीचको सम्बन्ध कारागारमै विकसित भएको देखिन्छ । समीर कारागारमा रहेकी आफ्नी आमालाई भेट्न पटकपटक सुन्धारा कारागार जाने गरेका थिए । उनकी आमा पनि त्यही कारागारमा कैद भुक्तान गरिरहेकी थिइन् । भेटघाटका क्रममा सपना र समीरबीच चिनजान बढ्दै गएर प्रेम सम्बन्धमा परिणत भएको प्रहरीको भनाई छ । कारागारभित्र रहँदा पनि सपना निरन्तर समीरसँग सम्पर्कमा रहने गरेकी थिइन् । प्रहरीका अनुसार उनले मोबाइलमार्फत समीरसँग नियमित कुराकानी गर्ने गर्थिन् । समीरका बुबासँग समेत उनको सम्पर्क रहेको खुलेको छ । फरार भएपछि पनि सपनाले सुरुमा समीरलाई फोन गरेकी थिइन् । फोन सम्पर्क हुन नसकेपछि उनले समीरका बुबालाई सम्पर्क गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यसपछि उनी असनस्थित समीर बस्ने कोठामा पुगेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खडकाले उनलाई आइतबार राति ठमेल क्षेत्रबाट पक्राउ परेको बताए । प्रहरी अनुसन्धानले सपना लामो योजनापछि जेलबाट भागेको देखिन्छ । यसपटक उनले फेरि सुरक्षा घेरा तोड्दै कारागारबाट भागेपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । जन्मकैदको सजाय पाएकी कैदी सहजै पर्खाल नाघेर भाग्न सक्नु तथा दुई दिनसम्म काठमाडौंमै लुकेर बस्न सक्नुले कारागारभित्रको निगरानी प्रणालीमाथि प्रश्न खडा भएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com