Global TV Logo
लोड हुँदैछ...

भुटानमा हिमताल फुटेर भीषण बाढी, गासा छाचुसहित सडक तथा पूर्वाधारमा ठूलो क्षति

S
Sristi Thakuri
२०२६-१०-३०, १०:१६ AM
होमपेज/विशेष समाचार
भुटानमा हिमताल फुटेर भीषण बाढी, गासा छाचुसहित सडक तथा पूर्वाधारमा ठूलो क्षति

काठमाडौँ , कात्तिक १३ - भुटानमा हिमताल फुटेर आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । बिहीबार साँझ उत्तरी भुटानको गासा जिल्लामा रहेको सिन्ताफु हिमतालबाट अचानक पानी बाहिरिएपछि मो छु नदीमा पानीको बहाव तीव्र बनेको हो । हिमतालबाट निस्किएको पानीसँगै ढुंगा, माटो र अन्य गेग्रान बगेर आउँदा नदी आसपासका संरचनामा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले गासा जिल्लाको चर्चित प्राकृतिक तातोपानी कुण्ड गासा छाचु क्षेत्रका संरचना बगाएको छ । पर्यटक तथा स्थानीय बासिन्दाको आवतजावत हुने उक्त क्षेत्र बाढीको उच्च जोखिममा परेपछि मानिसहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको थियो । बाढीको बहाव तीव्र रहेकाले क्षतिको वास्तविक अवस्था तत्काल यकिन गर्न नसकिएको अधिकारीहरूले जनाएका छन् । बाढीले भुटानको पुनाखा–गासा सडकखण्डमा समेत ठूलो क्षति पु¥याएको छ । जोम्लिङथाङ क्षेत्रको सडकमा गेग्रान थुप्रिनुका साथै सडकको केही भाग बगाएको छ । त्यस्तै, लाया क्षेत्र जाने सडकको तक्त्सेमाखाङ आसपासको खण्डमासमेत क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ । भुटानको दुर्गम हिमाली बस्ती लायासँगको सडक सम्पर्क प्रभावित हुँदा स्थानीय बासिन्दाको आवतजावत र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या उत्पन्न भएको छ । बाढीले पुनाखा जिल्लामा रहेको सौर्य ऊर्जाबाट सञ्चालन हुने सिँचाइ प्रणालीमासमेत क्षति पु¥याएको छ । दोछुखा–जोम्लिङथाङ–रित्सा क्षेत्रमा रहेको उक्त प्रणाली आंशिक रूपमा क्षतिग्रस्त भएपछि काम गर्न छाडेको छ । बाढीले पुल तथा अन्य संरचनामा पु¥याएको क्षतिको विवरण संकलन गर्ने कर्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । 

मानवीय क्षति हुन नदिन उद्धार तथा सतर्कता

बाढीको जोखिम देखिएसँगै भुटानी अधिकारीहरूले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दा, सुरक्षाकर्मी, सरकारी कर्मचारी र पर्यटकलाई सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । नदी आसपास जडान गरिएका साइरन प्रणाली सक्रिय पारिएको थियो भने सम्भावित जोखिममा रहेका क्षेत्रमा पूर्वसूचना जारी गरिएको थियो । पुनाखाको यबिसा क्षेत्रमा समेत बाढीको पानी पुगेपछि पुनाखा केन्द्रीय विद्यालयका आवासीय विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षाकर्मीले नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन् । बाढी रातिको समयमा आएकाले सुरुवाती चरणमा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भएको थियो । 

भारतका सीमावर्ती क्षेत्रमासमेत बाढीको चेतावनी

भुटानमा आएको बाढीको असर त्यहाँमात्रै सीमित रहने जोखिम देखिएपछि छिमेकी भारतका सीमावर्ती क्षेत्रमासमेत उच्च सतर्कता अपनाइएको छ । सिन्ताफु हिमतालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनात्साङछु नदी प्रणालीमा मिसिन्छ । यही नदी प्रणाली भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्ने भएकाले भारतका पश्चिम बंगाल र आसामका तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउनसक्ने चेतावनी जारी गरिएको हो । भारतको केन्द्रीय जल आयोगले सम्भावित बाढीलाई ध्यानमा राख्दै पश्चिम बंगाल र आसामका जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । विशेषगरी पश्चिम बंगालको अलिपुरद्वार, जलपाइगुडी तथा कुचबिहार र आसामको धुब्री तथा कोक्राझार क्षेत्रलाई सम्भावित जोखिममा राखिएको छ । बाढीको जोखिम देखिएपछि भारतका स्थानीय प्रशासनले नदी किनार आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् भने उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ । 

जलवायु परिवर्तनले बढाउँदै हिमाली जोखिम

पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धिसँगै हिमालय क्षेत्रमा हिमनदी पग्लिने र नयाँ हिमताल बन्ने क्रमले जोखिम थपिरहेको छ । हिमतालमा पानीको मात्रा बढ्दै जाँदा प्राकृतिक बाँधमा दबाब पर्नसक्छ । त्यसमाथि हिमपहिरो वा पहिरो खस्दा तालमा ठूलो छाल उत्पन्न भएर पानी बाहिरिने सम्भावना रहन्छ । हिमालय क्षेत्रमा रहेका नेपाल, भुटान, भारत र चीनजस्ता मुलुकहरू यस्ता प्राकृतिक विपद्को उच्च जोखिममा छन् । विशेषगरी हिमतालको अवस्था समयमै पहिचान गर्ने, पानीको सतह निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने र जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण गर्ने विषय चुनौतीपूर्ण बन्दै गएको छ । भुटानको पछिल्लो घटनाले हिमाली क्षेत्रमा हुने एउटा प्राकृतिक विपद्ले कसरी सीमापारसम्म प्रभाव पार्नसक्छ भन्ने पनि देखाएको छ । एउटा हिमतालबाट निस्किएको पानी नदीको बहावसँगै अर्को देशका बस्ती र पूर्वाधारका लागिसमेत जोखिम बन्नसक्छ । त्यसैले यस्ता विपद् नियन्त्रण र व्यवस्थापनका लागि छिमेकी मुलुकबीच सूचना आदानप्रदान, संयुक्त निगरानी र उद्धार तयारीको आवश्यकता बढ्दै गएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com