मन्दिरमा मतदान केन्द्र नराख्न सुझाव, अपाङ्गमैत्री पूर्वाधारमा जोड

सरोकारवालाहरुले निर्वाचन आयोगलाई मतदान तथा निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव दिएका छन् । आयोगले सातै प्रदेशमा आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षामा मतदान स्थल व्यवस्थापन, अपाङ्गमैत्री पूर्वाधार र मतपेटिका ढुवानीका विषय मुख्य रूपमा उठेका हुन् ।निर्वाचन आयुक्त सगुन शमशेर जबराले कतिपय मतदान केन्द्र मन्दिरजस्ता अनुपयुक्त स्थानमा रहेको भन्दै पुनरावलोकन आवश्यक रहेको कताए । उनले विद्यालय, क्याम्पस र सरकारी कार्यालय निर्माणकै चरणदेखि अपाङ्गमैत्री बनाउन सरकारको दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गरे ।आयुक्त जबराले हालै सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र सफल भएको दाबी गर्दै करिब डेढ अर्ब रुपैयाँ बचत गरेर सरकारलाई फिर्ता गर्ने तयारी रहेको जानकारी दिए ।उनका अनुसार विगतको तुलनामा नतिजा पनि छिटो सार्वजनिक गरिएको थियो भने कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नुपरेन र निर्वाचनसम्बन्धी मुद्दा पनि दर्ता भएनन् ।उनले २०७९ को तुलनामा बदर मत घटेको दाबी गर्दै मतदाता शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । मतदाता शिक्षा अभियानको अवधि बढाउने, स्वयंसेवक संख्या विस्तार गर्ने तथा डिजिटल माध्यम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक दलहरुले पनि प्रचारप्रसारसँगै मतदाता शिक्षा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।आयोगले प्रदेशस्तरीय समीक्षामा राजनीतिक दल, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत, स्वयंसेवक र पर्यवेक्षकबाट सुझाव संकलन गरेको जनाएको छ । गण्डकी प्रदेशको समीक्षा सम्पन्न भएसँगै कार्यक्रम सकिएको आयोगले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



