रास्वपाको पहिलो महाधिवेशन आजदेखि चितवनमा

काठमाडौँ, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँठाउँमा स्वागत गेट निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर पुगिसकेका छन् ।
दिउँसो २ बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नेछन् । महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिएका छन् । बन्दसत्र उद्योग वाणिज्य संघ चितवनको प्रदर्शनी कक्षको हलमा हुनेछ । रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत मतदान गराइने भएको छ । निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ । असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी छ । त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रास्वपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



