Global TV Logo
लोड हुँदैछ...

देशभर वर्षा तीव्र बन्दै, बाढी–पहिरोको जोखिम बढ्यो

S
Sristi Thakuri
२०२६-०९-२४, ०५:३८ AM
होमपेज/समाचार
देशभर वर्षा तीव्र बन्दै, बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं  , असोज ८  - गएरातिदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरु भएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । 

भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गएरातिदेखि नै मुसलधारे पानी पर्न थालेको छ ।  गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो । पछिल्लो २४ घण्टामा पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा भने त्यसलाई अति भारी वर्षा भनिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ । मौसम एकछिन खुलेजस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । यसैविच शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेकोे छ । मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकताअनुसार विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ । यता स्वास्थ्य  मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामोदूरीको यात्रा नगर्न अनुरोध गरेको छ । यस्तै बाढी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ । जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ । यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारीबारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ । नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरुको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै सडक खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूमार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको पनि प्राधिकरणको भनाइ छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com