लोकतन्त्र सुदृढीकरणमा मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री गौतम

काठमाडौं , साउन २५ - कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।
काठमाडौंमा आज आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भुमिकाको प्रशंसा गरिन् । राज्यका कामकारबाही र सूचना हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री गौतमले राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा जोड दिइन् । मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यको गतिविधिबारे थाहा पाउनुपर्ने बताउँदै उनले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन् । यसक्षेत्रको विकास र प्रवद्र्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रश्ताव पेश गर्न पत्रकारहरूलाई उनको आग्रह थियो ।
भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउँदै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गरिन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...


