रसुवाको बाढीमा बेपत्ता खोजी तीव्र, चिलिमे र माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार टोलीको खोजी जारी

काठमाडौं ,भदौ २५ - रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ ।
बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तीव्र रूपमा अघि बढाएको हो । आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी समेत टाँगिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ स्याँफ्रुस्थित चिलिमे जलविद्युत् केन्द्रको टनेलको मुखबाट करिब २५ मिटरभित्रसम्म नेपाली सेना पुगेको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा हराएकाहरूको पनि खोजी कार्य जारी रहेको छ । भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको छ । यो टोली सुरुङको १ सय ५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ । उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल हिलो पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



